बाँकेमा फैलियो आँखा पाक्ने रोग, ४ दिन विद्यालय बन्द

मुख्य खबर विशेष समाचार शिक्षा स्थानीय तह स्वास्थ्य

नेपालगंज । बाँके जिल्लाका केही स्थानहरुमा आँखा पाक्ने रोग फैलिए पछि चार दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरिएको छ । नेपालगंज नेपालगंज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि त्यसलाई थप फैलिनबाट रोक्न बुधबार बाट सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । नेपालगंज उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले अधिकांश उपमहानगरका बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकोले त्यसलाई थप फैलिनबाट रोक्न नेपालगंजका निजि तथा सम्पूर्ण सामुदायिक विद्यालय चार दिनका लागि बन्द गरिने निर्णय गरिएको बागेश्वरी पत्र डटकमलाई जानकारी दिए । ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’ बालबालिकामा फैलिन थालेपछि आम नागरिकले विद्यालय बन्द गर्न नगरका विभिन्न स्थानबाट अभिभावकले आग्रह गरेको पनि उपमहानगरको शिक्षा महाशाखाले जनाएको छ ।

उनले केही दिनदेखि कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण वृद्धि हुँदै गएपछि आँखा सम्बन्धी प्रकोपका कारण विद्यालयबाट नै अन्य बालबालिकामा पनि सर्ने सम्भावना रहेकोले बुधवारदेखि शुक्रबारसम्म बिदा दिने र शनिबार बिदा नै परेकोले चार दिनका लागि पठनपाठन बन्द गर्ने मंगलबार निर्णय गरेको बताए । यता खजुरा गाउँपालिका शिक्षा शाखाले पनि एक विज्ञप्ति जारी गर्दै चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पालिका अन्तर्गत विद्यालयका बालबालिकाहरूको आँखा चिलाउने, पाक्ने र रातो हुने समस्या दिन प्रतिदिन गुणात्मक रूपमा वृद्धि भइरहेकोले उक्त समस्याबाट बालबालिकाहरुमा हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि शिक्षा शाखाले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्रतिक्रिया दिए । यस्तै कोहलपुर नगरपालिकामा पनि सो सङ्क्रमणका कारण बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको पाइएको छ ।

कोहलपुर नगरपालिकाले पनि विद्यालय बन्द गर्ने बारेमा छलफल भइरहेको जनाएको छ । बाँकेमा ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’ बाट बालबालिका बढी प्रभावित भएको चिकित्सकले बताएका छन् । दैनिक २०० जति बालबालिका उपचारका लागि पुगिरहेको नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालले जनाएको छ ।

आँखा पाक्ने रोगबाट जोगिने ६ उपायहरु हेर्नुहोस !

साबुनपानीले हात धुने

आँखा पाक्ने व्यक्तिलाई छुँदा, उसले प्रयोग गरेका सामान छुँदा र आँखामा औषधि लगाइसकेपछि साबुनपानीले हात धुनुपर्छ । किनकि आँखा पाक्ने रोग आँसु र कचेराका कारण सर्ने गर्छ । यी सबै गरिसकेपछि हात धुँदा संक्रमण हुने जोखिम न्यून हुन्छ । त्यसैले हेलचेक्र्याइँ नगरी आँखा पाक्ने रोग लागेका मानिससँग प्रत्यक्ष सम्पर्कमा आउँदा हात धुने गर्नुपर्छ ।

छुट्टै सुत्ने

आँखा पाकेको छ भने त्यस्ता व्यक्ति निको नभएसम्म छुट्टै कोठामा सुत्नु राम्रो हुन्छ । यसो गर्दा संक्रमित व्यक्तिको घरका अरु सामानसँग प्रत्यक्ष सम्पर्क हुन पाउँदैन र सर्ने सम्भावना कम हुन्छ । त्यस्तै आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल, तकिया, लुगा, मोबाइल, ल्यापटप लगायत सामान अरुले प्रयोग नगर्नु उत्तम हुन्छ ।

मुख धुने

आँखा पाकेको बेला पटकपटक मुख धुनुपर्छ । यसबेला आँसु बगिरहने र कचेरा आइरहने भएकाले मुख धुँदा ती आँसु र कचेरा पखालिन्छन् । जसले अरुलाई सर्ने सम्भावना न्यून हुन्छ । तर आँखालाई हातमा पानी राखेर झिमझिम गर्ने वा आँखालाई बल गरेर धुने कार्य भने गर्नुहुँदैन । यसले संक्रमण बढ्न सक्छ । त्यसैले आँखा चिम्लेर दैनिक चार-पाँच पटक धुन सकिन्छ ।

चश्मा लगाउने

आँखा पाकेका व्यक्तिले कालो चश्मा लगाएर बस्नुपर्छ । यसो गर्दा अरुलाई सर्ने सम्भावना कम हुन्छ । साथै आँखाको नानीमा असर परेकाहरूलाई नाङ्गो आँखाले उज्यालोमा हेर्दा अप्ठ्यारो र चिडचिडापन हुने भएकाले त्यसबाट जोगाउन मद्दत गर्छ । साथै संक्रमित आँखामा थप बाह्य संक्रमण हुनबाट रोक्न पनि मद्दत गर्छ ।

एन्टिबायोटिक प्रयोग गर्ने                                 

आँखा पाकेमा चिकित्सकलाई जाँच गराएर एन्टिबायोटिक लगाउन सकिन्छ । दिनको तीनदेखि पाँच पटकसम्म यसलाई लगाउन सकिन्छ ।

डभाडबाट टाढा रहने

आँखा पाकेको छ भने भीडभाडमा हुने स्थान जस्तै, विद्यालय, पार्क र मलमा जानुहुँदैन । सकेसम्म घरमै बस्दा उचित हुन्छ । यसले गर्दा अरुलाई सर्ने सम्भावना कम हुन्छ । प्राय: बालबालिका, वृद्धवृद्धा र रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई यो रोग चाँडै सर्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *