‘ठूलो’ जात बिहे गर्नै नहुने ?

घटना बिचार मुख्य खबर विचार/व्लग विशेष समाचार

नेपालगंज । सल्यान जिल्लाको दार्मा गाउँपालिका वडा नं ३ का शिवबहादुर विक र सोही गाउँपालिका वडा नं. ४ की रेणुका मल्लले आफ्नो लामो प्रेम सम्बन्धलाई वैवाहिक बन्धनमा बाँध्ने निधो गरे। अनि असार ३० गते भागेर बिहे गरे।

दुवै जना दाङको घोराहीमा कोठा भाडा लिएर पढ्दै आएका थिए। दुवैजनाको सहमतिमा उनीहरूले भागेर बिहे गरेका हुन्।

यो अन्तरजातीय विवाह भएको कारण केटाले केटीलाई सजिलै आफ्नो घरमा लैजान सकेनन्। शिवले रेणुकालाई भगाएको कुरा केटीको घरसम्मै पुग्यो ।

उनीहरु दुवैको घरको दूरी धेरै टाढा छैन। केटीका आमाबुवाले त्यो कुरा सुन्नासाथ असार ३० गते राति १० बजेतिर १०/१२ जना केटाहरू लगेर शिवको घरमा पुगे। हातमा लौरा बोकेका उनीहरूले केटाका आमाबुवालाई थर्काउनुका साथै रुकुमको सोती घटना दोहोर्‍याउने भनेर धम्की पनि दिए।

२०७७ साल जेठ १० गते पश्चिम रुकुम, चौरजहारी–८ सोतीमा अन्तरजातीय प्रेम सम्बन्धकै कारण नवराज विकसहित ६ जना युवाको विभत्स हत्या गरिएको थियो। त्यहाँ भएको घटनाबारे सायद कुनै नेपाली अनभिज्ञ छैन।

नेपालको संविधानमा जातीय छुवाछुतका विषयमा धेरै कुराहरू लेखिए पनि दलित समुदायले न्याय पाइरहेका भने छैनन्। अझ बढी विभेदका घटनाहरू बढेको बढ्यै छन्। यस्ता घटनाहरू नियन्त्रण गर्नुको साटो राज्य आफैँ मौन छ। अन्तरजातीय विवाहलाई हाम्रो समाजले सजिलै स्वीकार गरेको अवस्था छैन।

सल्यानको दार्माका शिवहरूले पनि त्यस्तै नियति भोगिरहेका छन्। शिवको घरमा त्यसरी रातको समयमा १०/१२ जना व्यक्तिहरू आएको खबर सुन्नासाथ केटा पक्षका युवाहरू पनि जम्मा भएर त्यहाँ पुगेका थिए। तर केटा पक्षका व्यक्तिहरू शिवको घरमा पुग्दा केटी पक्षका व्यक्तिहरू आफ्नो घर फर्किसकेका थिए।

धन्न कुनै नराम्रो घटना भने भएन। केटी पक्षका व्यक्तिहरू आफ्नो घर फर्किसकेकाले केटा पक्षका व्यक्तिहरूले घटनालाई कुनै पनि ठुलो रुपमा नलिने र आपसी समझदारी गर्ने कुरा गरे। त्यो कुरा अर्कोदिन सामाजिक सञ्जालमा सनसनी भयो। त्यसबारे अनेकथरि टिकाटिप्पणी हुन थाल्यो। तर घटनाले अर्कै मोड लिन थाल्यो। माइती पक्षको दबाबमा रेणुकाले बयान फेर्न थालिन्।

शिव र रेणुकाको प्रेमकथा गाउँ नजिकैको स्कुलमा कक्षा ८ मा पढ्दैगर्दा सुरु भइसकेको शिवले बताउँछन्। त्यही प्रेम झाँगिदै गयो। र, शिवबहादुर विक र रेणुका मल्ल भागेर दोलखाको जिरी नगरपालिका-९ उर्लेनी पुगेका थिए।

केही दिनसम्म दुवैजना सँगै मिलेर बसे। शिवले हामीसँगमात्रै होइन, सबैसँग यही कुरा भन्दै आएका छन्।

एक दिन रेणुकाले आफ्ना माइतीसँग कुरा गर्छु भनिन्, शिवले पनि हुन्छ भने। त्यही दिनदेखि रेणुकाले बोली फेर्न थालिन्।

माइती पक्षको उजुरी पछि शिव र रेणुका दुवैलाई दोलखाको प्रहरीले नियन्त्रणमा लियो।

उर्लेनी प्रहरी चौकीका सई बिजुली भुजेलका अनुसार रेणुकाका आफन्तहरूले उनी शिवसँग असुरक्षित रहेको र दु:ख पाइरहेको भनेकी थिइन्। त्यही कुराका आधारमा माइती पक्षले प्रहरीलाई खबर गरे। केटी पक्षले छोरीलाई उद्धार गरिदिन अनुरोध गरेपछि आफूहरूले खोजी गरी फेला पारेर चौकीमा राखेको प्रहरी बताउँछ।

तर शिव भने रेणुकालाई कहिल्यै कुनै दु:ख नदिएको बताउँछन्। ‘पाँच वर्षदेखि हामी प्रेममा छौँ। जुन दिन रेणुकाले आफन्तलाई फोन गरिन्, त्यो दिनदेखि बोली व्यवहार फेरिँदै गयो’, शिव भन्छन्, ‘सायद उनका माइतीहरूले उनलाई केही भनेर भड्काए कि!’

रेणुका भने माइती पक्षसँग त्यस्तो केही नराम्रो नभनेको बताउँछिन्। बरू उनी आफैँलाई बस्न मन लागेन रे! अनि आफू माइती नै फर्किन चाहेको उनी सुनाउँछिन्।

केहीदिनअघि रेणुकाले आफू र शिवको एउटा तस्विर फेसबुकमा राखेर त्यसमा क्याप्सन लेखिन्, ‘कुरा माया-प्रेमको हो। बुझ्नेहरूका लागि यो तस्विर, नबुझ्नेहरूका लागि अहिले केही शब्द छैन। धन्यवाद…!’ उनको यो स्टाटसमा धेरैथरि प्रतिक्रियाहरू बटुलिएका छन्।

दलित समुदायलाई सरकारले हेर्ने नजर

आज विश्वजगत चन्द्रमा र मंगल ग्रहमा मानव समाजको अस्तित्व खोज्न अघि बढिसकेको छ। तर नेपाली समाजमा उत्पीडित दलित समुदाय मान्छेको दर्जामा जीवन जिउनका लागि लड्न परिरहेको छ। यो कस्तो विडम्बना!

शासन व्यवस्था मात्रै फेरेर समाजमा विद्यमान विभेदकारी संरचना, सामन्ती सोच र व्यवहार नफेरिँदो रहेछ। यसका लागि अब सांस्कृतिक क्रान्तिको बाटोमा एकजुट भएर अगाडि बढ्नु आवश्यक छ। जसले गर्दा आगामी दिनमा शिवहरूको नियति अर्को पुस्ताले भोग्न नपरोस्।

एउटा दलित युवा र गैरदलित युवतीबीचको प्रेम सम्बन्धलाई विवाहमा परिणत हुन नदिनका लागि योजनाबद्ध रुपमा ज्यान मार्ने धम्की दिने यो वा त्यो बहानामा ढाकछोप गर्ने, तोडमोड गर्ने र दोषीलाई उन्मुक्ति दिनको लागि खेलोमेलो गर्नखोज्नु अपराध नै हो। जसको हिसाबकिताब उत्पीडित दलित समुदायले राख्छ नै, समयक्रममा हुँदैजानेछ पनि।दलित समुदायले नजिकबाट नियालिरहेका छन् कि, जसबाट उत्पीडित दलित समुदायलाई हेर्ने सरकारको दृष्टिकोण र गर्ने व्यवहार छर्लङ्ग देखिएको छ।

आम नागरिकलाई हेक्का हुन जरुरी छ, जातीय भेदभाव र छुवाछुत उत्पीडित दलित समुदायको मात्रै समस्या होइन। यो सिंगो देशको समस्या हो, आम नेपालीको समस्या हो।

दलित भएकै कारण मानिसको हत्या गरेर, अछुत बनाएर, अपमान र विभेद गरेर नयाँ नेपाल बन्दैन। यो युगसम्म आइपुग्दा पनि दलितमाथि दमन भइरहेको छ।

मुलुकमा करिब १३ प्रतिशतको संख्यामा रहेका उत्पीडित दलित समुदाय यसप्रकारको दलनको क्रमभंग चाहन्छ। सिंगो देश एकजुट भएर समाजमा कलंकको रुपमा रहेको जातीय भेदभाव र छुवाछुत अन्तयका लागि विभेद विरुद्धको अभियानमा एक हुनैपर्छ।

हिजोको पुस्ताले यो विभेदको अन्त्य गरेको भए अहिले आएर यस्ता घटनाहरू हुने थिएनन्, सायद। त्यसमा पनि देशका सबैभन्दा बढी दलित बसोबास भएको कर्णाली प्रदेश हो। नवराजहरूकाे हत्या हुनुदेखि अहिले आएर शिव विकहरू पक्राउ हुनु त्यसैको उपज हो।

हामी कस्तो समाजमा छौँ, जहाँ मानिस भएर मानिसको अनुभुति गर्न पाइँदैन। अब सबै एकजुट भएर विभेदकारी संरचना, सोच र व्यवहार अन्त्यका लागि सामाजिक-सांस्कृतिक रुपान्तरणको दिशामा अघि बढ्नैपर्छ। जातीय विभेद तथा छुवाछुत अन्त्य गर्न संवैधानिक र कानुनी व्यवस्था गरेर मात्रै हुँदैन। त्यसको प्रभावकारिता र व्यवहारिक कार्यान्वयनका लागि बलियो संरचना आवश्यक छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *